विदेशमा चम्कदै नेपाली ठिटो

a featured article about janak sapkota was published in kantipur a national daily newspaper of nepal entitled shinning abroad a nepali youth

असार २०, २०६९ लीलानाथ घिमिरे

काठमाडौ — एउटा नेपाली ठिटो विज्ञान पढ्छ । जापानी भाषाबाट अरुमा फेरिदै आएका हाइकु (तीन हरफे कविता) अग्रेजी भाषामा लेख्छ । फिनल्यान्डमा बस्छ । आयरल्याण्डमा भएको अन्तराष्ट्रिय हाइकु प्रतियोगितामा प्रथम भएर पुरस्कार जितेको छ ।

त्यहाँ हुने साहित्यिक कार्यक्रममा ऊ विशिष्ठ अतिथिका रुपमा निम्त्याइन्छ । उसका हाइकु सुनेर बरिष्ठ कविहरूसमेत छक्क पर्छन् । विश्वमा प्रकाशित पुस्तकको डिजिटल भर्सन पुस्तक विक्रेता अमेजनले त्यही नेपाली ठिटोको पुस्तक डलरमा बेच्छ ।
तपाईंहरूलाई भेटाउँदै छु बागलुङमा जन्मेर, काठमाडौंमा हुर्के/बढे/पढेर मेटेरियल साइन्स (एप्लाइड फिजिक्स) मा स्नातकोत्तर गर्ने क्रममा फिनल्याण्डमा रहेका जनक सापकोटालाई । नेपाली मिडियामा त्यति नछाएका उनी फिनल्याण्ड र आयरल्याण्डका साहित्यकारमाझ भने राम्रैसँग परिचित छन् । उनका कृति अंग्रेजीका अतिरिक्त आइरिस र फिनिस भाषामा समेत प्रकाशित भएका छन् । फुटकर रचना त जापानी, स्विडिस भाषामा समेत अनुदित भएर छापिएका छन् । फिनल्याण्डमा केही महिनाअघि भएको प्रशिद्ध ‘टेम्परे बुक फेयर’ मा उनलाई आयोजकले अतिथिका रुपमा निम्त्याएको थियो । त्यसमा उनले हाइकु लेखनबारे आफ्ना अनुभव अरु साहित्यकारसामु बाँडेका थिए ।
पढाइ विज्ञान भए पनि यिनी मामा शम्भु कँडेलको प्रेरणाले सानैदेखि कविता लेख्थे । विज्ञानकै विद्यार्थी रहेका उनका मामा कविता/गजल लेख्थे । लामा खालका कविता लेख्दै आएका सापकोटाले पहिलो पटक हाइकु पढ्ने अवसर पाए । त्यो बि्रटिस सोसाइटीले प्रकाशन गरेको थियो । जापानी कविहरूले लेखनको सुरुआत गरेका हाइकु सुत्रवद्ध हुन्छन् । नेपाली कविताजस्तो जतिसुकै तन्काउन वा खुम्च्याउन पाइदैन । पहिलो हरफ ५ अक्षर, दोस्रो ७ र तेस्रो ५ अक्षर -सुत्र ५, ७, ५) मा आवद्ध त्यस्ता कविताले उनलाई आकर्षण गर्‍यो । ‘मलाई हाइकुले एक प्रकारको एडिक्सन नै गरायो, हालैको एक दिन स्काइपमा गफिँदै उनले सुनाए, म त्यसैमा डुब्न थाले । त्यो सन २००२ को समय थियो ।
त्यसपछि उनी हाइकु लेखेर विभिन्न कार्यक्रमहरूमा सुनाउन थाले । त्यसै क्रममा संयोगबस (कुनै पूर्वयोजना विना) एक अमेरिकी कविसँग भेट भयो । उसको नाम थियो सुजी कन्वे । उनीभन्दा निकै पाका कन्वे उनको प्रतिभाबाट प्रभावित भए । कन्वेले हाइकु सिक्ने इच्छा जाहेर गरे । सापकोटाले उनलाई सिकाए । दुवैले अंग्रेजी भाषामा लेख्दै आएका हाइकुको संयुक्त संग्रह २००५ मा ‘लाइट्स एलङ द रोड’ प्रकासन भयो । त्यसको मूल्य त्यतिखेर ४ सय रुपैयाँ थियो ।
यसैबीच उनले सन २००६ मा आयरल्याण्डमा अन्तराष्ट्रिय हाइकु प्रतिपर्धा हुदै रहेको थाहा पाए । उनले अनलाइनबाट र्फमका साथ आफ्नो हाइकु पठाए । संयोगले उनको रचना सर्वोत्कृष्ठ भयो । स्वदेशमै बसेर उनले अन्तराष्ट्रिय प्रतियोगिता जिते । उनको खुट्टा भूईमा कसरी होस ! त्यसको तीन वर्षपछि भएको सातौ वाषिर्क युकाइ हाइकु प्रतिस्पर्धा (२००९) समेत उनले जिते ।
त्यसपछि उनी पढाइ अगाडि बढाउन फिनल्यान्ड गए । उनी त्यहाँ रहेको थाहा पाएर आयरल्याण्डबाट उनलाई लेखन कार्यशालामा निम्त्याइयो । सन २०१० का केही दिन उनले आवासीय सुविधामा लेखेका हाइकुहरूको संग्रह ‘फुल मुन’ प्रकाशन गरे । त्यसलाई आइरिस भाषाका सम्मानित कवि ग्याबि्रएल रोसेनस्टकले आइरिस भाषामा अनुवाद गर्न अनुमति मागे । ‘त्यस्ता सम्मानित कविले अनुवाद गर्छू भन्दा मेरो खुसीको सीमै रहेन,’ उनी सुनाउछन् । यो लिमिटेड इडिसन थियो । निश्चित प्रतिभन्दा बढी छाप्न नपाइने ।
भर्खरै उनको ‘ह्विस्पर अफ पाइन्स’ नाममा अर्को कृति प्रकाशन भएको छ आइरिस र अंग्रजी गरी दुवै भाषामा । उनी त्यसको अनुवाद नेपालीमा समेत निकाल्ने तयारीमा छन् । उनका केही रचना स्विडिस र जापानी भाषाका पत्रिकामा समेत अनुवाद भएर छापिएका छन् । इन्टरनेसनल हाइकु जर्नलको अनलाइन सस्करणमा अंग्रेजी र नेपालीमा अनुवाद उनका हाइकु पढ्न पाइन्छ । गुगल गर्दा उनलाई चिनाउने विदेशबाट प्रकाशित अनगिन्ती वेभसाइटका पेज भेटिन्छन् ।
सापकोटाकाबारे आइरिस कवि क्याथल ओ-सेर्काइघले द हाइकु फाउन्डेसन डट ओआरजीमा निकै प्रशंसाका शब्द प्रकट गरेका छन् । उनी लेख्छन्, ‘जनक सापकोटा हाइकु लेखनमा विलक्षण प्रतिभा भएका गर्व गर्न लायक नेपाली ठिटो हुन् । आफू र आत्माका बीच उनी दुरदर्शी अगुवाका रुपमा देखिएका छन् । उनी वर्ड र बल्र्ड दुवैका लागि दयालु छन् । उनी साच्चै नै डरका लागि बाँचेका छन्, सिर्जनाका लागि बाँचेका छन् ।’
उनको कृति विश्वप्रशिद्ध डिजिटल पुस्तक विक्रेता कम्पनी अमेजन डटकमको स्टोरबाट किन्न सकिन्छ । अमेजनले सापकोटाको ‘हविस्पर अफ पाइन्स’ को मूल्य इन्टरनेटबाट खरिदका लागि ६ डलर ५४ सेन्ट मूल्य तोकेको छ । अहिले उसले १ डलर ३१ सेन्ट मूल्य छुट दिएर ५ डलर २३ सेन्टमा बेच्ने अफर ल्याएको छ । यो पुस्तक किन्डल इडिसनमा उपलब्ध छ ।
विज्ञान पढेको ब्यक्ति साहित्यमा लागेर के पायो त ? केही पाउने चाहनाले लेखेको हैन, उनी तर्किन्छन्, मैले सबैभन्दा ठूलो सन्तुष्टि पाएको छु । विदेशमा समेत अरुसामु चिनिन पाएको छु ।
नेपाली कवि कसरी विदेशी भाषातिर आकषिर्त भयो ? उनले सुरुमा नेपालीमै लेखेका हुन् । ‘नेपालीमा लेख्दा त्यतिधेरै प्रतिक्रिया आएन,’ उनले सुनाए, ‘अंग्रेजीमा लेख्न थालेपछि भने त्यसको बाढी नै लाग्यो ।’ अहिले विदेशी पत्रिकाहरूमा मेरा रचना छापिन्छन । राम्रो प्रतिक्रिया आएको छ ।’ नेपाली ठिटो हाइकुमा चर्चित भएको थाहा पाएर बल्र्ड हाइकु क्लवका अध्यक्ष जापानी नागरिकले सम्पर्क गरेर उनलाई स्यावासी दिए । उनको कृतिको क्लवले प्रकासन गर्ने वल्ड हाइकु रिभ्युमा समिक्षा प्रकाशन भएको छ ।
उनका लागि लेखन ‘पार्ट टाइम जव’ जस्तै छ । उनी स्नातकोत्तर सक्ने तरखरमा छन् । उनले भविश्यमा विज्ञानका क्षेत्रमा लाग्ने वा हाइकुमै रमाउने भनेर निर्धारण गरिसकेका छैनन् । ‘लेखनले चिनाएकाले त्यो छेत्र छाड्ने कुरा आउदैन,’ उनले भने, ‘पढेको ज्ञानलाई पनि प्रयोग गर्नै पर्छ । भविश्य निर्धारण गर्न समयलाई छाडिदिने सोचेको छु ।’
उनी कस्तो समय/मुडमा लेख्न रुचाउछन् ? ‘प्लान गरेर लेखिदैन,’ उनी टक्टकिन्छन्, ‘जे देखिन्छ, त्यसैलाई लेख्ने हो । म खासमा नेचरलाई थिम बनाएर लेख्छु ।’
रिडर बाबु र त्रिभुवन विश्वविद्यालयकी अधिकृत आमाका जेठा छोरा उनको लेखनमा परिवारिक वातावरणको पनि प्रभाव परेको छ । सापकोटालाई सानैदेखि साहित्यमा लाग्न प्रेरित गर्ने मामा शम्भु भान्जामा अन्तर्राष्ट्रिय रुपमा आफूलाई अब्बल प्रस्तुत गर्ने गुण सानैदेखि देखापरेको बताउँछन् । ‘उनी सानो हुदै मैले लेखेका कविताको केस्राकेस्रा केलाइ दिन्थे,’ उनले सम्झिए, ‘साहित्यमा उनको त्यतिखेरै गहिरो रुची थियो ।’

back to top